एनपीएल आफैं गर्ने क्रिकेट संघको निर्णय, प्रधानमन्त्री कपको फाइनल तीनदिवसीय

९ आश्विन २०८०, मंगलवार १५:०९

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आफैं आयोजना गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

असोज पहिलो साता भएको साधारणसभाबाट चुनिएको कार्यसमितिको पहिलो बैठकले मार्च–अप्रिल २०२४ मा एनपीएल आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

बिज्ञापन

अरु फ्रेन्चाइज लिगलाई भने विदेशी खेलाडी विना घरेलु लिगका रुपमा मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ले विदेशी खेलाडीसहित लिग गर्ने प्रस्ताव गरेको छ । यसबारे एनपीएल सकिएपछि बोर्ड बैठकमा छलफल गरेर निर्णय गर्ने सहमति भएको क्यान स्रोतले जनाएको छ ।

क्यानको बैठकले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागिता रहने प्रतियोगिताको सेमिफाइनल खेल दुईदिवसीय र फाइनल खेल तीनदिवसीय ढाँचामा सञ्चालन गर्ने स्रोतको भनाइ छ ।

बिज्ञापन

प्रत्येक प्रदेशमा एकएक वटा खेल मैदानमा पिच निर्माण गरी प्राविधिक जनशक्ति र आवश्यक खेल मैदान सामग्रीको व्यवस्था गर्ने पनि क्यानले निर्णय गरेको छ । यसअनुसार हरेक प्रदेशको प्रतिनिधित्व रहने गरी १० जनालाई क्युरेटर तालिम दिइनेछ ।

हरेक प्रदेशमा प्रादेशिक क्रिकेट संघले पूर्वखेलाडी, क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुबाट एक जना स्वयंसेवक प्रादेशिक विकास अधिकृत (प्रोभिन्सियल डेभलपमेन्ट अफिसर) नियुक्त गर्न सिफारिस माग गरेको छ ।

क्यानले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खठ्का र सदस्य दिवाकर घले रहेको पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।

९ आश्विन २०८०, मंगलवार १५:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना